पर्सा, पौष २० / पर्सा प्रहरीले विशेष सूचनाको आधारमा हुण्डी कारोबारमा संलग्न तीन जनालाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ। मिति २०८२।०९।१८ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ गडैयाटोलस्थित सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–४ देवरवाना निवासी २२ वर्षीय पवन कुमार साह, सोही स्थानका २० वर्षीय मुस्ताक अन्सारी तथा १९ वर्षीय रामपकार पासवान रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट रु. १०,०२,०१० (अक्षरेपी दश लाख दुई हजार दश रुपैयाँ) नगद र ना. १६ प ३०२० नम्बरको NxG Splendor मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

