Neelamb Menu

सर्लाहीको लालबन्दीमा ६० केजी गाँजासहित कार र मोटरसाइकल नियन्त्रण, एक पक्राउ

Author
News Desk | January 04, 2026
Featured

सर्लाही, पौष २० /  मिति २०८२/०९/२० गते बिहान करिब ५:०० बजे सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१ जङ्गल टोलस्थित भित्री सडक खण्डमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको BR 2 PB 2226 भारतीय नम्बरको खरानी रंगको Marazzo M2 कार र बागमती प्रदेश ०६-०२प १७७० नम्बरको रातो-कालो रंगको १२५ सीसी TVS Raider मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको चेकिङ टोलीले रोकी जाँच गर्न खोज्दा सवारी नरोकी तीव्र गतिमा भागेका थिए।

प्रहरीले मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने वाजुल साहका ३२ वर्षीय छोरा नरहसन साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको खुल्न आएको हो।

त्यसपछि इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट तत्काल खटिएको प्रहरी टोलीले भाग्दै गरेको कारलाई पछ्याउने क्रममा लालबन्दी नगरपालिका-१ जङ्गल टोलस्थित लालबाबु महतोको घरमा ठोक्किएको अवस्थामा फेला पारेको थियो। कार चालक भने घटनास्थलबाट फरार भएका छन्।

कारको चेकजाँच गर्दा सिट पछाडि लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको छ, जसको कुल तौल ६० केजी रहेको प्रहरीले जनाएको छ। गाँजासहित कार, मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा परेका नरहसन साहलाई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ८ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।