Neelamb Menu

वीरगञ्ज अशान्त बनाउनेहरूमाथि कडा कारबाहीको माग - नगरप्रमुख राजेशमान सिंह

Author
News Desk | January 06, 2026
Featured

बिरगंज, पौष २२ /  राजेशमान सिंह, नगरप्रमुख वीरगञ्जले धार्मिक द्वन्द्व चर्किएपछि मात्रै सद्भावका र्‍याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्तिप्रति कडा प्रश्न उठाउनुभएको छ। बाहिर उत्पन्न भएका विवादलाई वीरगञ्जमा जबर्जस्ती थोपरेर शहरलाई अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरूलाई प्रशासनले अझै कानुनी दायरामा ल्याउन नसक्नु गम्भीर चिन्ताको विषय भएको उहाँको भनाइ छ।

नगरप्रमुख सिंहले वीरगञ्ज किन बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बन्न बाध्य भइरहेको छ भन्ने प्रश्न गर्दै, सदियौँदेखि जोगिँदै आएको भाईचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउन खोज्नेहरूमाथि जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्पष्ट गर्नुभयो।

उहाँका अनुसार शान्ति-सुरक्षा कायम गर्नु पूर्णतः राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी हो। समाजका अगुवा र सरोकारवालाहरूको भूमिका सहजिकरण र सहकार्यसम्म सीमित हुने भए पनि सम्भावित सुरक्षा जोखिमको आँकलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कानुनी कारबाही गर्ने सम्पूर्ण संयन्त्र सरकारसँग हुँदाहुँदै पनि, बाहिरबाट आयातित विषयका कारण धार्मिक तनाव चर्किँदा सम्बन्धित निकाय जिम्मेवारीबाट पन्छिन खोज्नु अस्वीकार्य छ।

नगरप्रमुख सिंहले आफ्नो स्वार्थ पूरा गर्न पूरै शहरलाई अशान्त, भयभीत र आक्रान्त बनाउनेहरूमाथि तत्काल पक्राउ गरी कडा र निष्पक्ष कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्नुभयो। “वीरगञ्ज कुनै व्यक्ति, समूह वा एजेन्डाको बन्धक होइन यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो,” उहाँले जोड दिनुभयो।

अन्त्यमा उहाँले धर्म भावनासँग जोडिएको संवेदनशील विषय भएकाले कसैले कसैको भावनासँग खेल्न नपाउने र भावना भड्काएर समाज बिथोल्न खोज्ने जो कोहीलाई कुनै हालतमा छुट नदिनु नै न्याय, स्थायित्व र दीर्घकालीन समाधानको आधार हुने बताउँदै, सबैलाई आपसी सद्भाव र भाईचारा अझ सुदृढ गर्दै शान्त, समुन्नत र “वैभव वीरगञ्ज” निर्माणतर्फ एकजुट हुन आह्वान गर्नुभयो।