Neelamb Menu

बुटवलमा सवारी जाँचकै क्रममा ट्राफिक प्रहरीको मृत्यु

Author
News Desk | January 05, 2026
Featured

पौष २१ /  रुपन्देहीको बुटवलमा सवारी साधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदारको कारको ठक्करबाट मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडि सोमबार दिउँसो पूर्वबाट बुटवलतर्फ आउँदै गरेको कारले चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देही का सूचना अधिकारी सुरज कार्की का अनुसार अस्थायी ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत पाललाई बागमती प्रदेश १-००३ च ००७७ नम्बरको कारले दिउँसो करिब सवा ४ बजे ठक्कर दिएको थियो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले ४ बजेर ३८ मिनेटमा मृत घोषणा गरेका थिए।

प्रहरीले ठक्कर दिने कार र चालक गुल्मीको रेसुङ्गा नगरपालिका-१ निवासी ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।