Neelamb Menu

सर्लाहीमा मोटरसाइकल ठक्करपछि लागुऔषध गाँजासहित मो.सा. बरामद, एक पक्राउ

Author
News Desk | January 04, 2026
Featured

सर्लाही, पौष २० /  मिति २०८२/०९/१४ गते करिब ११:०० बजे सर्लाही जिल्लाको कौडेना गाउँपालिका-३ पर्सा पोखरीस्थित हुलाकी सडक खण्डमा दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा BR 30 AF 1469 नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका-७ निवासी अन्दाजी ३८ वर्षीय हरदास कुमार यादव र पछाडि सवार उनका बुबा अन्दाजी ७० वर्षीय अमिन्द्र राय यादव सामान्य घाइते भएका छन्। उनीहरूको हातखुट्टामा चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अर्को BR 06 CN 7442 नम्बरको मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका थिए। घटनापछि प्रहरीले उक्त मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको ४ किलो ७१० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको हो। गाँजासहित मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

फरार चालकको खोजतलासका क्रममा मिति २०८२/०९/१८ गते दिउँसो १२:५५ बजे सर्लाहीकै कौडेना गाउँपालिका-१ निवासी २७ वर्षीय रविन्द्र गिरीलाई मलंगवा नगरपालिका-१ स्थित बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनलाई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान गरिरहेको जनाएको छ।