Neelamb Menu

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता सम्पन्न, ब्लु हेभन र लिटिल फ्लावर बने च्याम्पियन

Author
News Desk | December 30, 2025
Featured


बिरगंज, पौष १५ / निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भएको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता मंगलबार फाइनल खेलसँगै सफलतापूर्वक सम्पन्न भएको छ।

आदर्शनगरस्थित रंगशालामा सम्पन्न प्रतियोगितामा छात्रा र जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्साहजनक तथा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। फाइनल खेलमा जुनियर बोयजतर्फ ब्लु हेभन स्कूलले साउथ जोन स्कूललाई पराजित गर्दै उपाधि हात पार्‍यो भने साउथ जोन स्कूल उपविजेतामा सीमित रह्यो। त्यसैगरी गल्र्सतर्फ लिटिल फ्लावर एकेडेमी स्कूलले नेशनल एकेडेमी स्कूललाई हराउँदै च्याम्पियन बन्न सफल भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी प्रिति साहनी ‘म्यान अफ द म्याच’ घोषित भइन्। गल्र्सतर्फ साउथ जोन माध्यमिक विद्यालय र जुनियर बोयजतर्फ मनकामना सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरे।


समापन समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विजेता तथा उपविजेता विद्यालयलाई शील्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा जत्तिकै खेलकुद पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलकुद प्रवर्द्धनमा महानगरपालिका आवश्यक तयारीमा जुटिरहेको जानकारी दिनुभयो।

प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समारोहमा प्याब्सन मधेस प्रदेश सल्लाहकार, जिल्ला तथा नगरस्तरीय पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य नगर उपाध्यक्ष शर्मानन्द कुशवाहाले व्यक्त गर्नुभएको थियो भने सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो।