Neelamb Menu

दलित अगुवाद्वारा सखुवाप्रसौनी गापामा ज्ञापन

Author
News Desk | December 29, 2025
Featured

 वीरगंज, १४ पुस । पिस फोर दलित फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामसहितका दलित अगुवाहरूले सखुवा प्रसौनी गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

दलित समुदायको अधिकार संरक्षण, समान पहुँच र सशक्तीकरण सुनिश्चित गर्न “दलित सशक्तीकरण ऐन” निर्माण गर्नुपर्ने माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले दलित समुदाय अझै पनि गरिबी, छुवाछूत तथा जातीय विभेद, शिक्षा र रोजगारीमा पहुँचको अभाव, भूमि तथा आवास समस्या, स्वास्थ्य सेवामा असमानता जस्ता समस्याबाट पीडित रहेको ज्ञापनपत्रमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहलाई आफ्ना आवश्यकता अनुसार कानून निर्माण गर्ने अधिकार रहेको स्मरण गराउँदै दलित अगुवाहरूले दलित समुदायका लागि छुट्टै ऐन निर्माण गर्नु अपरिहार्य भएको ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्र बुझ्दै  प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले नीति तथा ऐन निर्माणको प्रक्रियामा प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।

टोलीमा फाउन्डेसन नेपाल पर्साका सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासवान, सदस्य संजोग राम, लिलावती देवी, उद्यम देवी, महेश राम लगायतको सहभागिता थियो ।