काठमांडू, पौष १६ / ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा भएको दोहोरो हत्या प्रकरण प्रहरीले सफलतापूर्वक समाधान गरेको छ। घटनामा केशव राज हायु र परुहाङ राईको ज्यान गएको थियो। हायुको शव शेराफाँटस्थित फार्महाउसको इनारमा फेला परेको थियो भने राईको शव भक्तपुरको सुन्यविनायक–देउराली जंगलमा भेटिएको थियो।
अनुसन्धानका क्रममा २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीले ऋण नतिरेको विषयलाई लिएर योजनाबद्ध रूपमा हत्या गरेको खुलासा भएको छ। ढुंगेलले हायुसँग १२ लाख र राईसँग ५ लाख रुपैयाँ ऋण लिएको तर भुक्तानी गर्न नसकेपछि अधिकारीको सहयोगमा हत्या योजना बनाएको प्रहरीको भनाइ छ। घटना मङ्सिर २४ र २५ गते भएको पुष्टि गरिएको छ।
यस जघन्य अपराधको सफल अनुसन्धान, अभियुक्त पहिचान र पक्राउमा महत्वपूर्ण भूमिका खेलेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय र उपत्यका अपराध अनुसन्धान कार्यालयले ७ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा डीएसपी पञ्चलाल गोले, वेद पौडेलसहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकारीहरू रहेका छन्।
प्रहरीले प्रभावकारी अनुसन्धान र समर्पणको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि अपराध नियन्त्रणमा यस्तै तत्परता कायम रहने विश्वास व्यक्त गरेको छ।
