पौष १६ / फेसबुकमार्फत गरिएको जनमत संग्रह (पोल) मा १ लाख ५१ हजारभन्दा बढी दाजुभाइ-दिदीबहिनीले सहभागिता जनाउँदै आफ्नो मत व्यक्त गरेका छन्। कुल मतमध्ये ९१ प्रतिशत अर्थात् १ लाख ३८ हजार ९ सय ३३ मतदाताले “आउनुपर्छ” भन्ने पक्षमा स्पष्ट समर्थन जनाएका छन् भने ८ प्रतिशत अर्थात् १२ हजार १ सय ७५ जनाले “नआउनु” भन्ने मत राखेका छन्। यी दुवै मतलाई समान रूपमा सम्मानयोग्य ठानिएको छ।
सार्वजनिक धारणा राख्दै उनले आफू कुनै पनि पूर्वनिर्धारित निर्णय वा धाराको बन्दी नबन्ने स्पष्ट पारेका छन्। देशको हित, सत्य र सही जहाँ देखिन्छ, त्यहीँ आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ। यदि आफ्नो उपस्थितिले सकारात्मक परिवर्तन सम्भव हुन्छ, जनताको विश्वास मजबुत हुन्छ र स्थिर सरकार निर्माणमा सानो भए पनि योगदान पुग्छ भने जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
राजनीतिमा आउनुपर्छ भन्ने बहुसंख्यक भावनाको कदर गर्दै नआउनु भन्ने मतभित्र लुकेको चिन्ता, डर र प्रश्नलाई पनि गम्भीर रूपमा सुन्ने उनले बताएका छन्। त्यसैले एक्लै निर्णय नगरी सबै सरोकारवालासँग निरन्तर छलफल गर्दै जनताकै सल्लाह र विवेकलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
भदौ २३ र २४ मा Gen-Z युवाहरूले उठाएको आन्दोलन, आक्रोश र भावनाको विपरीत कुनै पनि निर्णय नलिने स्पष्ट पार्दै उनले आन्दोलनका क्रममा घाइते भएकाहरूसँग अहिले पनि निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्। उनीहरूको चाहना पार्टीभित्र आबद्ध नभई स्वतन्त्र रूपमा चुनाव लडेर संसदमा निर्भीक आवाज उठाउने व्यक्ति आवश्यक रहेको उल्लेख गरिएको छ।
बेथिति र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाएकै कारण १८ दिन थुनामा बस्नुपरेको यथार्थ स्मरण गराउँदै, यो संघर्ष पद वा हैसियतका लागि नभई मूल्य र विश्वासका लागि भएको उनले बताएका छन्। हजारौँ नेतामध्ये एउटा नाम बन्न होइन, बोल्न नसक्नेको आवाज, भुइँमान्छेको भरोसा र जनताको वास्तविक प्रतिनिधि बनेर काम गर्ने उनको धारणा छ।
आफू स्वतन्त्र व्यक्ति भएको, बेथिति, कुरीति र भ्रष्टाचारको निर्भीक विरोध गर्ने र गलत देखे नछोडी बोल्ने स्पष्ट सन्देश दिँदै उनले भनेका छन् “मलाई राजनीति गर्नु छैन, मलाई जनताको सेवा गर्नु छ।” पद र शक्तिको आवरणमा होइन, जनतामै रहेर जनतासँगै उभिएर संघर्ष गर्नु नै आफ्नो बाटो भएको उनको भनाइ छ।
शिवभक्त भएको उल्लेख गर्दै उनले आफ्नो सोच, निर्णय र कर्म सत्य, धर्म र न्यायको मार्गमै रहोस् भन्ने कामना व्यक्त गरेका छन्। शक्तिको लोभ होइन, कर्तव्यको बोध र पदको चाहना होइन, सेवाको संकल्प नै आफ्नो मार्गदर्शन भएको उनको निष्कर्ष छ।
