Neelamb Menu

भैरहवाका क्यासिनोमा अवैध प्रवेश र प्रहरी संरक्षणको आरोप, कडा अनुगमनको तयारी

Author
News Desk | December 30, 2025
Featured


भैरहवामा सञ्चालनमा रहेका क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराइरहेको तथा प्रहरी संरक्षणको नाममा मासिक रकम बुझाउने गरेको आरोप सार्वजनिक भएको छ। क्यासिनो सञ्चालनसम्बन्धी कानुनअनुसार नेपाली नागरिकलाई प्रवेश निषेध रहे पनि व्यवहारमा नियम उल्लङ्घन भइरहेको स्थानीय स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रत्येक क्यासिनोले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई मासिक दुई लाख र लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई एक लाख रुपैयाँ बुझाउने प्रचलन रहेको बताइएको छ। अनुगमन कमजोर हुँदा नेपाली नागरिकलाई जुवाजन्य खेलमा सहज पहुँच भएको गुनासो छ।

पछिल्लो समय विवादमा तानिएका मिनी क्यासिनोहरूलाई लक्षित गर्दै प्रशासनले नियमावली कडाइका साथ पालना गराउने निर्देशन दिएको छ। अनुगमनमा केही क्यासिनोमा नेपाली नागरिकले भारतीय आधार कार्डको झुटो प्रमाण देखाएर प्रवेश गर्ने गरेकोसमेत फेला परेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले क्यासिनो सञ्चालकलाई कानुन, सुरक्षा र प्रवेशसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै उल्लङ्घन भए कडा कारबाही हुने स्पष्ट पारेका छन्। प्रशासनले इजाजतपत्र, वित्तीय कारोबार, सीसीटीभी, करचुक्ता र प्रवेश विवरणसहितका कागजात माग गरी निगरानी थप कडा बनाउने तयारी गरेको छ।