काठमांडू, पौष १६ / काठमाडौंका विभिन्न होटलहरूमा ग्राहकको मागअनुसार युवती उपलब्ध गराउने गिरोह सक्रिय रहेको खुलासा भएको छ। उक्त गिरोहमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले करिब तीन सातादेखि गोप्य अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार आफ्नै कार प्रयोग गरी युवतीहरूलाई होटल–होटल पुर्याउने र ठूलो रकम असुल्ने कार्यमा संलग्न दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई हाल बुढानिलकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की पक्राउ परेका हुन्। उनलाई मंसिर २० गते गौशाला वृत्तले सरस्वतीनगर क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
अनुसन्धानका क्रममा कार्कीले करिब ५० जना युवतीका तस्बिरहरू आफ्नो मोबाइलमा राखी ट्याक्सी चालक, होटलमा ग्राहक खोज्ने व्यक्ति तथा होटलका केही स्टाफलाई समेत उपलब्ध गराउने गरेको पाइएको छ। ती तस्बिर हेरेर ग्राहकले युवती ‘कन्फर्म’ गरेपछि होटलका स्टाफ वा बिचौलियामार्फत कार्कीलाई सम्पर्क गरिन्थ्यो र त्यसपछि कार्की स्वयं कारमार्फत युवतीहरूलाई होटल पुर्याउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।
हालसम्म कार्कीविरुद्ध दुई जना युवतीले उजुरी दिएका छन्। उनीहरूले आफूहरूलाई प्रलोभनमा पारेर जालझेल गरी यौनधन्दामा लगाइएको दाबी गरेका छन्। प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान जारी छ।
