बारा,पौष१७ / आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएकाले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित हुने सम्भावना देखिएको छ। निर्वाचनको मिति र परीक्षा तालिका एक–अर्कासँग जुध्न सक्ने भएकाले परीक्षा सर्ने विषयमा माघको पहिलो साता औपचारिक निर्णय हुने भएको हो।
एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार माघ पहिलो साता परीक्षा सञ्चालन समितिको बैठक बसेर परीक्षाको मिति सर्ने वा नसर्ने निर्णय गरिनेछ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले हालसम्म कुनै अन्तिम निर्णय नभए पनि आवश्यक तयारी निरन्तर भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीका फाराम रुजु, प्रश्नपत्र तयारी, डाटा इन्ट्रीलगायतका प्राविधिक काम नियमित रूपमा अगाडि बढिरहेका छन्।
स्रोतका अनुसार एसईईको प्रश्नपत्र छपाइ गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले यही अवधिमा मतपत्र पनि छाप्नुपर्ने भएकाले परीक्षा तालिका प्रभावित हुन सक्छ। केन्द्रले पुस तेस्रो सातादेखि मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको र सुरक्षादस्ताले प्रेस नियन्त्रणमा लिएपछि अन्य कुनै पनि छपाइ कार्य सम्भव नहुने जनाएको छ। केन्द्रका प्रबन्ध सञ्चालक लोकनाथ पौडेलका अनुसार मतपत्र र प्रश्नपत्रको छपाइ एकै समयमा हुन नसक्ने भएकाले एसईईको प्रश्नपत्र छपाइ केही दिन पछि सर्न सक्ने अवस्था छ।
यस विषयमा राष्ट्रिय परीक्षा बोर्ड का उपाध्यक्ष तथा शिक्षा सचिव चूडामणि पौडेलले पनि निर्वाचनका कारण एसईई परीक्षा केही दिन पछि सर्न सक्ने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार फागुनमा निर्वाचन भए चैतको पहिलो साता परीक्षा सञ्चालन गर्न कठिन हुने भएकाले बोर्डले चैतको अन्तिमतिर परीक्षा गर्ने तयारीसमेत गरेको छ। यस विषयमा छिट्टै बोर्डको बैठक बसेर निर्णय लिइने उहाँले बताउनुभयो।
बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा करिब ५ लाख १५ हजार विद्यार्थी सहभागी हुने अनुमान छ। केन्द्रले उत्तरपुस्तिका छपाइ सम्पन्न गरिसकेको छ भने प्रश्नपत्र छपाइको तयारी भइरहेको छ।
यसैबीच, कक्षा १० को परीक्षा सर्ने सम्भावना देखिए पनि कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा सञ्चालन गर्ने तयारी बोर्डले गरेको छ। कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनु करिब आधा घण्टा अघि अनलाइनमार्फत पठाइने व्यवस्था भएकाले त्यसमा समस्या नआउने बोर्डको भनाइ छ।
हालसम्म एसईई परीक्षा स्थगित गर्ने वा नगर्ने विषयमा औपचारिक निर्णय नभएकाले नियमित तयारी यथावत् रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। अन्तिम निर्णय माघ पहिलो साता सार्वजनिक हुने अपेक्षा गरिएको छ।

