पौष २१ / तराई-मधेशका विभिन्न जिल्लामा धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि बढ्दै गएको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण, भ्रामक तथा कानुनविपरीतका अभिव्यक्ति सार्वजनिक गर्ने जो कोहीलाई कडा कारबाही गरिने स्पष्ट पारेको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले शान्ति सुव्यवस्थामा असर परेको जनाएको छ। पछिल्ला दिनमा केही व्यक्तिले फरक धर्मप्रति असहिष्णुता फैलिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि मधेश प्रदेशका धनुषा र पर्सालगायत जिल्लामा प्रदर्शनसमेत भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले धनुषासहितका जिल्लामा निश्चित समुदाय र धर्मलाई लक्षित गरी अवैधानिक गतिविधि गर्नेहरूलाई पहिचान गरी कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार तराई-मधेशमा विकसित अवस्थाबारे विभिन्न समुदायसँग समन्वयात्मक बैठक तथा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत आयोजना गरिएको छ।
यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले तराई-मधेशका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी तथा केन्द्रमा रहेका सम्बद्ध आयोगका प्रतिनिधिसँग छलफल गर्दै शान्ति सुरक्षा र धार्मिक सहिष्णुता कायम गर्न संयमता अपनाउन आग्रह गर्नुभएको छ। गृहमन्त्रीले संवेदनशील परिस्थितिमा सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिनुभएको गृह मन्त्रालयले जनाएको छ।

