Neelamb Menu

बारा सीमावर्ती क्षेत्रमा प्रहरीको पेस्तोल हराएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न

Author
News Desk | January 02, 2026
Featured


 बारा, पौष १८ /  बारा जिल्लाको सीमावर्ती क्षेत्रमा ड्युटीमा खटिएका नेपाल प्रहरी का एक अधिकृतको सरकारी पेस्तोल हराएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि पेस्तोल फेला नपरेको र घटनालाई लुकाउन खोजिएको आरोप लागेको छ।

इलाका प्रहरी कार्यालय कवहीगोठमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रको ‘नाइन एमएम’ पेस्तोल तस्करी नियन्त्रणका क्रममा हराएको बताइएको छ। स्रोतका अनुसार तस्कर समूहले हतियार खोसेर फरार भएको आशङ्का रहे पनि प्रहरीले यसबारे स्पष्ट जानकारी दिएको छैन।

घटना बाहिरिएपछि मात्रै मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। बारा प्रहरीले छानबिन भइरहेको जनाए पनि सीमावर्ती क्षेत्रमा प्रहरी व्यवस्थापनको कमजोरी र लापरबाहीप्रति गम्भीर प्रश्न उठेको छ। स्थानीय तहबाट तस्करी नियन्त्रण र दोषीमाथि कडा कारबाहीको माग तीव्र बन्दै गएको छ।