Neelamb Menu

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिरियो, सबै यात्रु सुरक्षित

Author
News Desk | January 02, 2026
Featured

झापा, पौष १८ /  काठमाडौँबाट भद्रपुर(चन्द्रगढी)का लागि उडेको बुद्ध एयरको ATR–72 विमान अवतरणका क्रममा भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। अवतरणको क्रममा विमान रनवे पार गर्दै पूर्वतर्फको भासिएको स्थानमा पुगेपछि अड्किँदा विमान आंशिक रूपमा क्षतिग्रस्त भएको हो।

बुद्ध एयर 901 उडान नम्बरको उक्त विमानमा ५१ जना यात्रु र ४ जना चालक दल गरी कुल ५५ जना सवार थिए। विमान राति २०:२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो भने राति करिब २१:१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार विमान रनवे को पूर्वतर्फको अन्तिम भाग (D–End) पार गर्दै करिब ३०० मिटर अगाडि रहेको भासिएको स्थानमा पुगेर रोकिएको थियो। दुर्घटनालगत्तै विमानमा सवार सबै यात्रु तथा चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। प्रारम्भिक विवरणअनुसार कुनै मानवीय क्षति भएको छैन।

घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको छ। अहिले सुरक्षा, उद्धार तथा अवस्थाको मूल्याङ्कन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रनवे पार गरी विमान भासिएको भागमा पुग्नु दुर्घटनाको प्रमुख कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन नागरिक उड्डयन प्राधिकरण र प्राविधिक टोलीले विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाइएको छ।