बुधबार राति भारतबाट सिटी सफारीमार्फत सामान ल्याउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको थियो र प्रहरीसँग झडपसमेत भएको थियो।
घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउने उद्देश्यले भएको वार्तापछि दुबै पक्षबीच सहमति जुटेको हो। सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिनेछ, जसले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ।
छानबिनमा दोषी देखिएमा मृतक परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिने सहमतिमा उल्लेख छ। साथै मृतक विजय साहकी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने र उनका छोरालाई सशस्त्र प्रहरीमा भर्ना प्रक्रियामा सहजीकरण गरिनेछ।
त्यस्तै, पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृतकको शव परिवारलाई हस्तान्तरण गरी अन्त्येष्टि गरिने सहमति भएको छ। सहमतिपछि स्थानीय क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

