Neelamb Menu

रौतहटको चन्द्रपुरमा अज्ञात वृद्ध पुरुष मृत फेला

Author
News Desk | January 03, 2026
Featured

पौष १९ /  रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-४ स्थित भित्री सडक खण्डमा अन्दाजी ६० देखि ७० वर्ष उमेर समूहका एक जना अज्ञात वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय चपुरका अनुसार सोमबार बिहान स्थानीयवासीले सडक छेउमा एक वृद्ध पुरुष अचेत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच गर्दा ती वृद्ध पुरुषको मृत्यु भइसकेको पुष्टि गरेको हो।

प्रहरीका अनुसार मृतकको नाम, थर तथा स्थायी ठेगाना हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको भए पनि मृत्युको यकिन कारण खुल्न बाँकी रहेको जनाइएको छ।

घटनास्थल सुरक्षित गरी आवश्यक मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। साथै मृतकको पहिचान खुलाउने प्रयासस्वरूप आसपासका प्रहरी कार्यालयहरूमा सूचना प्रवाह गरिएको र स्थानीय बासिन्दासँग समेत सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय चपुरले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।