Neelamb Menu

वीरगञ्जमा पत्रकारमाथि आक्रमण, नेपाल पत्रकार महासंघ पर्साद्वारा कडा आपत्ति

Author
News Desk | January 05, 2026
Featured

बिरगंज, पौष २१ /  वीरगञ्जसहित विभिन्न स्थानमा धार्मिक समुदायले गरेको प्रदर्शनको समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरिएको छ। विज्ञप्तिअनुसार शान्तिपूर्ण प्रदर्शनको दृश्य खिचिरहेका बेला प्रदर्शनकारीहरूले सञ्चारकर्मीको मोबाइल खोस्ने, कुटपिट गर्ने तथा समाचार संकलनमा अवरोध सिर्जना गरेका थिए।

महासंघका अनुसार यस किसिमको आक्रमण प्रेस स्वतन्त्रता र नागरिकको सूचित हुने संवैधानिक अधिकारमाथिको ठाडो हस्तक्षेप हो। घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ भने स्वतन्त्र प्रेसविरोधी गतिविधि तुरुन्त रोक्न चेतावनीसमेत दिइएको छ।

साथै, धार्मिक तथा सामाजिक विषयमा समाचार प्रकाशन र प्रसारण गर्दा सञ्चारमाध्यमले उच्च संयम र जिम्मेवारी अपनाउनुपर्ने महासंघको भनाइ छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जाति, धर्म, भाषा, संस्कृति र समुदायबीच सामाजिक सद्भावमा खलल पुग्ने सामग्री उत्पादन तथा प्रसारण नगर्न स्पष्ट आग्रह गरिएको छ।

लाइभ प्रसारण र सामाजिक सञ्जालमार्फत फैलाइने सामग्रीले समुदायबीच नकारात्मक असर पार्न सक्ने भन्दै यसप्रति सञ्चारमाध्यम सचेत रहनुपर्ने महासंघको धारणा छ। महासंघले अन्त्यमा घटनाको निष्पक्ष छानबिन गरी पत्रकारको सुरक्षा सुनिश्चित गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।