Neelamb Menu

वीरगञ्जमा मस्जिद घटनाको नाममा तोडफोड र हिंसा, दोषी पहिचानभन्दा अराजकता मच्चाउने प्रयास

Author
News Desk | January 04, 2026
Featured

बिरगंज, पौष २० /  धनुषाको धनुकमला नगरपालिका-६ सखुवा मरानमा मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको घटनाको विरोध जनाउने नाममा आइतबार बिहान वीरगञ्जमा उत्रिएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। प्रदर्शनका क्रममा मुस्लिम समुदायका केही युवाहरूले वीरगञ्ज–३ छपकैयास्थित नेपाल प्रहरीको प्रहरी बिटमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन्।

प्रदर्शनकारीहरूले वीरगञ्जका विभिन्न चोक-चोकमा टायर बाल्दै नाराबाजी गरेका थिए। सोही क्रममा छपकैयास्थित श्रीराम चलचित्र भवन अगाडि रहेको प्रहरी बिटमा ढुंगामुढा हुँदा झ्यालको शीशा फुट्नुका साथै संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै पाँच राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो। प्रदर्शनकारीको ढुंगामुढाबाट चार जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् भने प्रहरीको लाठीचार्जबाट एक जना प्रदर्शनकारी घाइते भएको जानकारी उनले दिए। दिउँसो १ बजेदेखि वीरगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

धनुषामा भएको घटनामा संलग्न दोषी पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने माग जायज भए पनि त्यसको आडमा वीरगञ्जमा सार्वजनिक सम्पत्ति तोडफोड, सुरक्षाकर्मीमाथि आक्रमण र सडक अवरुद्ध गर्नु गलत र निन्दनीय कार्य भएको स्थानीय बासिन्दा तथा विभिन्न हिन्दू समुदायका प्रतिनिधिहरूले बताएका छन्। उनीहरूका अनुसार धार्मिक सद्भाव बिगार्ने नियतले गरिने यस्ता अराजक गतिविधिले निर्दोष समुदायलाई बदनाम गर्नुका साथै सामाजिक सहअस्तित्वमा गम्भीर खतरा उत्पन्न गर्छ।

स्थानीय हिन्दू अगुवाहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दै, शान्तिपूर्ण सहअस्तित्व कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। साथै, धार्मिक घटनालाई राजनीतिक वा साम्प्रदायिक रंग दिँदै हिंसा फैलाउने जो कोहीलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा उनीहरूको जोड छ।