Neelamb Menu

वीरगन्ज तनावग्रस्त बन्दै, कर्फ्यु आदेश जारी

Author
News Desk | January 05, 2026
Featured

बिरगंज, पौष २१ /  धनुषाको कमला-६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड तथा कुरान जलाइएको घटनापछि उत्पन्न विवादका कारण पर्साको वीरगन्ज आइतबारदेखि नै तनावग्रस्त बनेको छ। अवस्था नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

मस्जिद तोडफोडको विरोधमा आइतबार मुस्लिम समुदायले टायर बालेर प्रदर्शन गरेपछि साँझ हिन्दु समुदायका युवाहरुले मोटरसाइकल जुलुस निकालेका थिए। सोमबार बिहान दुवै समुदायका छुट्टाछुट्टै प्रदर्शन हुँदा वीरगन्ज-३ छपकैया, आदर्शनगर, मकालु होटल चोक र लाठगल्ली क्षेत्रमा झडपको अवस्था सिर्जना भयो।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो। यसक्रममा मुर्ली चोकमा कुटपिटको घटनापछि पूर्ववडाध्यक्ष तुफान अन्सारीसहित तीन जना नियन्त्रणमा लिइएका छन्। निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दुवै समुदायका गरी २६ जना पक्राउ परेका छन्।

यस्तै, प्रदर्शनको समाचार संकलनका क्रममा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि हातपात भई उनको मोबाइल फोन खोसिएको छ, जुन अहिलेसम्म फिर्ता नभएको जनाइएको छ।

स्थिति अझै संवेदनशील रहेकाले सुरक्षा सतर्कता कडा पारिएको र शान्ति सुरक्षाका लागि कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।