Neelamb Menu

बारा प्रतिनिधिसभा निर्वाचन: प्रकाशकुमार अधिकारी मुख्य निर्वाचन अधिकृत नियुक्त

Author
News Desk | January 04, 2026
Featured

 

बारा, पौष २० /  बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई निर्वाचन आयोग नेपालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारा जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।

निर्वाचन आयोगका सह-सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषदको परामर्शमा देशभरका ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको हो। यी नियुक्तिहरू पुस २५ गतेदेखि लागू हुनेगरी गरिएको जनाइएको छ।

प्रवक्ता भट्टराईका अनुसार नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले माघ २ गतेदेखि आ-आफ्नो कार्यक्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आवश्यक सम्पूर्ण तयारी समयमै अघि बढाइने समेत जनाएको छ।