Neelamb Menu

वीरगन्जमा ‘राष्ट्रिय धोती दिवस’ मनाइयो

Author
News Desk | January 01, 2026
Featured


पर्सा, पौष १७ /  नयाँ अंग्रेजी वर्षको पहिलो दिन बिहीबार वीरगन्जमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताले ‘राष्ट्रिय धोती दिवस’ मनाएका छन्। धोती, कुर्ता र गम्छा लगाएर बिहान घण्टाघर चोकमा भेला भएका कार्यकर्ताले त्यहाँबाट र्‍याली निकाल्दै माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गरेका थिए। र्‍याली घण्टाघर चोकमै पुगेर समापन गरिएको थियो।

र्‍यालीपछि आयोजित कोणसभामा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसी समुदायको पहिचान मात्र नभई सांस्कृतिक धरोहरसमेत भएकाले यसलाई राष्ट्रिय पोशाकका रूपमा मान्यता दिनुपर्ने बताए। नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश भए पनि एउटै समुदायको पोशाकलाई मात्र राष्ट्रिय पोशाकका रूपमा प्राथमिकता दिइएको भन्दै त्यसको विकल्पका रूपमा हरेक वर्ष जनवरी १ मा राष्ट्रिय धोती दिवस मनाउँदै आएको उनले बताए।

कार्यक्रममा जनमत पार्टीकी नेतृ नजमा खातुनसहित नेताहरू बृजेश्वर प्रसाद चौधरी, राजनारायण मिश्रा, कृष्ण कुशवाहा, राजु गिरि लगायतको सहभागिता रहेको थियो।