Neelamb Menu

ब्लाइन्ड महिला टी-ट्वान्टी वर्ल्डकप २०२५ की उपविजेता नेपाली टोलीलाई काठमाडौँ महानगरको सम्मान

Author
News Desk | January 04, 2026
Featured

 

काठमाडौँ, पौष २० /  फस्ट विमेन्स टी-ट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिका ले नगदसहित सम्मान गरेको छ।

क्रिकेट एशोसिएसन फर द ब्लाइन्ड इन इन्डियाले आयोजना गरेको उक्त विश्वकप कात्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा सम्पन्न भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान गर्नुभएको हो।

सम्मान कार्यक्रमअन्तर्गत खेलाडीहरूलाई जनही १ लाख रुपैयाँ र व्यवस्थापकहरूलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने गरी नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

खेलाडीहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नवीन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., समितिका सदस्यहरू, कार्यपालिका सदस्य, खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी. ले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी दिनमा आवश्यक व्यवस्थापकीय सहयोग महानगरपालिकाले निरन्तर उपलब्ध गराउने बताउनुभयो। उहाँले क्रिकेट खेलले खेलाडी र दर्शकलाई समान रूपमा जोड्ने भएकाले यसको विकासका लागि नियमित काम गरिने उल्लेख गर्नुभयो।

टोलीकी कप्तान गीता पौडेलले यो सम्मान सरकारका तर्फबाट पाएको पहिलो सम्मान भएको भन्दै यसको मूल्य नगद वा जिन्सी वस्तुसँग तुलना गर्न नसकिने बताउनुभयो। उहाँले अभ्यासका लागि स्थायी मैदानको आवश्यकता औँल्याउँदै महानगरपालिकाबाट आवश्यक पूर्वाधार सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। टोली नेता पवन घिमिरेले यो कार्यक्रम सम्मान मात्र नभई पहिचान र हौसला भएको उल्लेख गर्दै भविष्यमा पारा स्पोर्ट्स एकेडेमी स्थापना हुने आशा व्यक्त गर्नुभयो।

उपविजेता टोलीमा कप्तान गीता पौडेल, उपकप्तान विनिता पुनसहित सुस्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल सहभागी हुनुहुन्थ्यो।

टोलीका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के.सी. र टोली नेता पवन घिमिरे रहनुभएको छ।